
सुदन गुरुङ लगायतको जेनजी समूह पूर्वप्रधानमन्त्रीहरुलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ ।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहितका नेताहरुलाई पक्राउ गर्न माग गर्दै परिसर पुगेको हो । मंगलबार अपरान्ह गुरुङ लगायतको जेनजी समूहले माईतीघरमा पूर्वप्रधानमन्त्री ओलीसहित कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वगृहमन्त्री एवं काँग्रेस नेता रमेश लेखक, एमाले नेता महेश बस्नेत, पूर्वपरराष्ट्रमन्त्री एवं काँग्रेस नेतृ डा. आरजु राणा देउवाको ब्यानर टाँसेर उनीहरुलाई पनि पक्राउ गर्नुपर्ने मागसहित विरोध जनाएका छन् ।
जेनजी आन्दोलनमा दमनकारी भूमिका निभाएको भन्दै तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई पक्राउ गर्न माग गर्दै जेनजीले दबाब बढाइरहेका छन् । यसबारेमा तीन वटै सुरक्षा निकायहरुसँग अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले छलफल समेत गरेको बताइएको छ । प्रहरीले भने प्रधानमन्त्रीबाट लिखित जवाफ आएपछि मात्रै जाहेरी दर्ता गर्न सकिने र बाँकी प्रक्रिया अघि बढाउने भन्दै जाहेरी दर्ता गर्न पुगेका जेनजी प्रतिनिधिहरुलाई फर्काएको थियो ।