
काठमाडौं, असोज २२ :
आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक रिजनल फाइनलको आफ्नो पहिलो खेलमा नेपालले आज कुवेतसँग खेल्दैछ ।
ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ९ बजे सुरु हुनेछ ।
टी-२०आई क्रिकेटमा हालसम्म नेपाल र कुवेत ३ पटक खेलेका छन् । ३ खेलमा नेपालले २ खेल जितेको छ भने कुवेतले १ खेल जितेको छ ।
पछिल्लोपटक नेपाल र कुवेत यसै वर्ष अप्रिलमा हङकङमा भएको चारदेशीय शृंखलामा दुईपटक भिडेका थिए । लिग चरणमा नेपालले कुवेतलाई हराउँदा फाइनलमा भने कुवेतले नेपाललाई हराएको थियो ।
आजको खेल जित्ने टोली सुपर सिक्समा पुग्ने लगभग निश्चित नै हुनेछ ।