
हैजा रोग नियन्त्रणका लागि नेपालले १० लाख १८ हजार १ सय डोज खोप प्राप्त गरेको छ। पर्सा र बारा जिल्लामा देखिएको हैजा महामारीलाई नियन्त्रण गर्न सरकारले खोप अभियान सञ्चालन गर्न लागेको हो।
बुधवार, स्वास्थ्य सेवा विभाग, टेकुमा आयोजित कार्यक्रममा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र युनिसेफका प्रतिनिधिहरूले उक्त खोप स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टङ्कप्रसाद बारकोटीलाई हस्तान्तरण गरेका थिए।
सरकारले ‘एक वर्ष उमेर माथिका’ सबैलाई लक्षित गर्दै यही असोजदेखि कात्तिक महिनासम्म हैजा विरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ।
खोप कहाँ-कहाँ सञ्चालन हुने?
खोप अभियान पर्सा जिल्लाका सबै पालिकामा सञ्चालन हुनेछ भने बारा जिल्लाका कलैया उप–महानगरपालिका, जितपुर–सिमरा उप–महानगरपालिका, परवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका र विश्रामपुर गाउँपालिकामा एक वर्ष माथिका सबैलाई खोप दिने योजना छ।
मुखबाट खुवाइने खोप
चिकित्सकहरूका अनुसार हैजा विरुद्धको खोप मुखमार्फत खुवाइन्छ। सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार हैजा ‘भिब्रियो कोलेरी’ नामक जीवाणुबाट सर्ने अत्यन्त सङ्क्रामक झाडापखाला सम्बन्धी रोग हो।
दुषित खाना र पानीको सेवनबाट सर्ने हैजा रोगका लक्षणहरूमा चौलानी पानी जस्तो पातलो दिसा, वाकवाकी, बान्ता, र कडा जलवियोजन (डिहाइड्रेसन) मुख्य छन्।स्वास्थ्य अधिकारीहरूले प्रभावित क्षेत्रका जनतालाई सचेत रहन र खोप अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन्।