भक्तपुर, असोज २३ :

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारले अराजकतालाई प्रवर्धन गर्ने मतियारको रुपमा काम गरिरहेको आरोप लगाएका छन् ।

नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले बिहीबार गुण्डुमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । महासचिव पोखरेलले शान्ति सुरक्षा कायम गर्ने कर्तव्यबाट सरकार च्युत भएको जिकिर समेत गरे । उनले जेनजी प्रदर्शनपछि नेपाली समाज असुरक्षा, भय र आतंकमा बाँच्नुपर्ने बिडम्वनापूर्ण अवस्थामा रहेको पनि उल्लेख गरे ।

उनले भने,‘आज समाज एक प्रकारले भन्ने हो भने असुरक्षामा, भयमा, आतंकमा बाँच्नुपर्ने जुन स्थिति सृजना गरिएको छ । सरकारमा रहेकाहरु शान्ति सुरक्षा कायम गर्ने कर्तव्यबाट च्युत भएर अराजकतालाई प्रवर्धन गर्ने कामको मतियार बनिरहेको देख्दा यो मुलुकलाई कता लैजान खोजिँदैछ भन्ने कुराको गम्भिर प्रश्न खडा भएको कुरा म तपाईंहरुको बीचमा राख्न चाहन्छु ।’

महासचिव पोखरेलले मुलुकलाई विदैशिक चलखेलको क्रिडास्थल बनाउने प्रयास भइरहेको समेत बताए ।