काठमाडौं, असोज २३ :

जेनजी आन्दोलबाट क्षतिको कुल बिमा दाबी रकम २३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।हालैको आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बिमा दाबी रकम बुधबारसम्ममा सबै निर्जीवन बिमा कम्पनीमा गरी करिव २३ अर्ब २२ करोड ८७ लाख पुगेको हो ।

नेपाल बिमा प्राधिकरणकाअनुसार विभिन्न १४ वटा निर्जीवन बिमा कम्पनी र चारवटा लघु निर्जीवन बिमा कम्पनीमा परेका कुल ३ हजार ९९ वटा बिमा दाबी परेको छ ।

प्राधिकरणकाअनुसार निर्जीवन बिमा कम्पनीहरूमा परेका कुल दाबी रकममध्ये बुधवारसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव १ अर्ब २९ करोड १९ लाख भुक्तानी भएको छ । निर्जीवन बिमा कम्पनीहरूले क्षतिको सर्भे प्रतिवेदन तयारीका लागि बुधबारसम्ममा २ हजार ७ सय ६ को संख्यामा सर्भेयर खटाएको र हालसम्ममा सर्भेयरहरूले ३७४ को संख्यामा सर्भे प्रतिवेदन पेश भएको छ ।

सरकारले पनि क्षतिको प्रारम्भिक आँकलन गरिसकेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा देशभर करिब एक खर्ब ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । यो आँकडा सार्वजनिक र निजी क्षेत्रको प्रारम्भिक अध्ययनको हो ।

आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट तथा आगजनीका कारण धेरै क्षति देखिएको छ । आन्दोलनका क्रममा सबैभन्दा धेरै सार्वजनिक सम्पतीमा मात्रै एक खर्ब रुपैयाँ बराबरको क्षति भएको केही दिनअघि अघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री कुलमान घिसिङले जानकारी गराउनुभएको थियो ।निजी कम्पनीहरुले आफ्नो सम्पतीको बिमा गराउने गरेपनि सरकारी सम्पतीको खासै नहुँदा सरकारी सम्पती ठूलो मात्रमा गुमेको छ ।