
तत्कालीन गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले जेन–जी आन्दोलनको क्रममा आन्दोलनकारीमाथि बल प्रयोग गर्न कुनैपनि आदेश नदिएको दाबी गरेका छन्।
शुक्रबार पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आन्दोलनकारीमाथि बल प्रयोग गर्न प्रहरीलाई प्रधानमन्त्री र गृहमन्त्रीको तर्फबाट कुनै पनि आदेश नभएको जिकिर गरे । तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकले आन्दोलनकारीहरुलाई गोली हान्न आदेश दिएको आरोप लाग्दै आएको बेला लेखकले त्यस बारेमा प्रष्ट पारे । उनले आन्दोलनको क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त समेत गरे । उनले आन्दोलनको पहिलो दिनमै ठूलो धनजनको क्षति भएका कारण आफूले गृहमन्त्रीको पदबाट राजीनामा गरेको पनि उल्लेख गरे ।
उनले भने,‘जेन–जी आन्दोलनको क्रममा प्रहरीलाई बल प्रयोग गर्नको लागि तत्काली प्रधानमन्त्री र गृहमन्त्रीले आदेश दियो भन्ने कोणबाट पनि कुराहरु आइरहेका छन् । जोसुकै गृहमन्त्री र प्रधानमन्त्री भएपनि यसरी आदेश दिने कुरा हुँदैन । आन्दोलनकारीमाथि बल प्रयोग गर्ने कुनै पनि आदेश दिइएको छैन, भनिएको छैन । घट्नाहरु दुःखद् भए । धेरै जनाको ज्यान गएको छ । सरकारी संरचना र व्यक्तिगत निजी आवासहरुमा ठुलो आगजनी भएको छ । ती घट्नाहरुका प्रति मलाई गहिरो कुरा भयो । लगत्तै मैले मन्त्री पदबाट राजीनामा दिएको कुरा यहाँहरुमा विदितै छ ।’
पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा तय गर्न निरन्तर पार्टी बैठक चलिरहेको उनको भनाइ छ । उनले पार्टीको अगामी कार्यनीतिको बारेमा पार्टीभित्र गम्भीर छलफल भइरहेको समेत बताए ।