
राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा सर्वदलीय छलफल जारी छ। छलफलमा प्रमुख दलका दोस्रो तहका नेताहरू सहभागी भएका छन् भने शीर्ष नेताहरू अनुपस्थित रहे। छलफलमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसहित सबै मन्त्री बैठकमा उपस्थित छन्।
बैठकमा आगामी फागुन २१ मा हुने भनिएको निर्वाचन र समसामयिक राजनीतिक परिस्थिति विषयमा छलफल चलिरहेको छ ।
छलफलमा नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी भएका छन्।
त्यसैगरी, रास्वपाबाट कार्यवाहक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिनकुमार आचार्य, राप्रपाबाट ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा (एकीकृत समाजवादी) बाट राजेन्द्र पाण्डे र धनश्याम भुसाल, जसपाबाट रेनु यादव, जनमत पार्टीबाट सीके राउत र डा. जयकुमार राउत, लोसपाबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापति सहभागी भए।
यद्यपि, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बैठकमा उपस्थित भएनन्।