
कैलालीको घोडाघोडी नगरपालिका–८ जरैमा एक युवकको घाँटी रेटेर बीभत्स हत्या भएको छ ।
गएराती २८ वर्षीय केशर बहादुर बुढाको हत्या भएको हो । खाजा खाने क्रममा आपसी विवाद भएको र विवाद चर्किएपछि उनको हत्या गरिएको बताइएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही वडाका १८ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गङ्गा बुढा क्षेत्री रहेको प्रहरीले जनाएको छ ।
खाजा खाने क्रममा आपसी विवाद भएको र विवाद चर्किएपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । हत्यापछि मृतकको टाउको छिनाएर बोकी सुखडस्थित प्रतिखेत प्रहरी पोष्टमा आत्मसमर्पण गर्न जाँदै गर्दा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले मृतक बुढाको टाउको इलाका प्रहरी कार्यालयमा नै राखेको छ भने शरीर घटनास्थलमै रहेको जानकारी दिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।