शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

झाडी फाडेर फलफूलखेती

· सोमबार, २७ असोज, २०८२ मा प्रकाशित
झाडी फाडेर फलफूलखेती
म्याग्दी, असोज २७ :

म्याग्दीको बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकासहित गण्डकी प्रदेशको १० जिल्लाका ३४  स्थानीय तहमा पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना (नाफा) सञ्चालन भएको छ । 
कास्कीको पोखरा महानगर र पर्वतको जलजला गाउँपालिकामा दुई वर्षअघि सुरु भएको आयोजना लागू भएका स्थानीय तहको सङ्ख्या चालु आर्थिक वर्ष २०८२÷८३ मा ३४ पुगेको छ । कूल ९३ दशमलब ४५ मिलियन अमेरिकी डलर लागत अनुमान गरिएको आयोजना आर्थिक वर्ष २०८२ / ०३ मा गण्डकी प्रदेशका म्याग्दी, बागलुङ, मनाङ र मुस्ताङका १९ स्थानीय तहमा विस्तार भएको हो । यसअघि १६ स्थानीय तहमा लागू भएको थियो ।

नेपाल सरकार र एसियाली विकास बैंकको साझेदारीमा सञ्चालित आयोजनामार्फत १० प्रजातिका फलफूलखेती विस्तार गर्न कृषि फार्म, सहकारी र समूहले ५० प्रतिशत अनुदान पाउने आयोजना प्रमुख वासुदेव काफ्लेले जानकारी दिए । “पहाडी क्षेत्रमा ओखर, सुन्तला, कागती, किबीलगायत फलफूलखेती विस्तार र प्रवद्र्धन गर्ने कार्यक्रमको उद्देश्य हो,” उनले भने “बसाइसराइका कारण बाँझिएका खेतीयोग्य जमिनलाई पुनःप्रयोगमा ल्याउनका लागि आयोजनाले सहयोग पुगेको छ ।”

कम्तीमा २० रोपनी क्षेत्रफलमा नयाँ बगैँचा स्थापना गरी फलफूलखेती विस्तार गर्न आयोजनाले न्यूनतम रु तीन लाख अनुदान उपलब्ध गराउने व्यवस्था छ । बिरुवा रोप्न खाडल खन्ने, मल, बिरुवा खरिद, सिँचाइ र कृषि आँैजारका सामग्री खरिद गर्न कूल लागतको ५० प्रतिशत अनुदान पाउनेछन् ।

पहिलो चरणमा आयोजना लागू भएको जलजला गाउँपालिकाका २९ वटा फर्म र समूहले सुन्तलाजात र ओखरखेती विस्तारसम्बन्धी कार्यक्रमका लागि अनुदान सम्झौता गरेका थिए । २० रोपनी क्षेत्रफल जमिनका दरले ११ वटा फर्मले सुन्तला र दुई वटाले कागतीको बगैँचा स्थापना गरेको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए ।

“काम सम्पन्न गरेर भुक्तानीका लागि निवेदन पेस गरेका फर्मको आयोजनाको प्राविधिक टोलीसहित अनुगमन सकिएको छ,” उनले भने “फलफूल बगैँचा स्थापनाका लागि बाँझिएको जग्गा प्रयोगमा आउनुका साथै बजार झरेका किसान गाउँ फर्किएर फलफूलखेतीमा लागेका छन् ।”उपाध्यक्ष आचार्यका अनुसार बाँकी १६ फर्मले बगैँचा स्थापनाको तयारीमा छन् । जलजला गाउँपालिका–४ सिरानचौरमा १० वर्षदेखि बाँझिएको जमिनमा बनेको झाँडी फाडेर ओमनम् एग्रो फार्मका सञ्चालक जनक अधिकारी र प्रदीप खत्रीले चार सय ५० कागतिका बिरुवा रोपेर बगैँचा स्थापना गरेका छन् ।

“गाउँदेखि टाढा भएको र बाँदरले सताउन थालेपछि खेती गर्न छाडेपछि सिरानचौरको खेत झाडीमा परिणत भएको थियो,” उनले भने “नाफा आयोजनाको सहयोगमा झाडी फाडेर अहिले कागतीको बिरुवा रोपेर हराभरा बनाएका छौं ।”

जलजला गाउँपालिका–५ लेकफाँटका दयाराम सापकोटा, मीनराज सापकोटा र सुरेश सापकोटाले धान खेतीको विकल्पमा २० रोपनी खेतमा सुन्तलाका बिरुवा रोपेका छन् । मिलनचोक बजारमा बस्दै आएका दयाराम बगैँचा स्थापना गरेपछि गाउँ फर्केका छन् । धान, कोदो, मकैलगायत खाद्यबाली खेतीको तुलनामा कम लगानी र धेरै वर्षसम्म नगद आम्दानी हुने भएकाले सुन्तलाखेती गरेको जलजला गाउँपालिका–७ धाइरीङका तुलसी आचार्यले बताए ।

अनुगमन टोलीसँग किसानले आयोजनाले अनुदान उपलब्ध गराउन ढिलाइ गर्दा समस्या भएको गुनासो गरेका थिए । गत असारमै बगैँचा स्थापना गरेपनि आयोजनाले भुक्तानीमा ढिलाइ गरेको सञ्जोग कृषि फार्म जलजला–५ रातमाटाका वेदनाथ सुवेदीले बताए । आयोजना प्रमुख काफ्लेले काम सम्पन्न गरेका फर्महरुको स्थलगत अनुगमन सकेपछि तत्कालै भुक्तानी दिने प्रतिबद्धता जनाए । 

रासस
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार