
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआइबीले पूर्व उपराष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन पासाङमाथि अनुसन्धान थालेको छ । सुन तस्करी प्रकरणमा यसअघि उन्मुक्ति पाएका उनीमाथि अनुसन्धान थालिएको हो ।
सिआइबीले पुनका जेठा छोरा जितेन्द्र र उपराष्ट्रपति हुँदाका सल्लाहकार जीवन गुरुङमाथि पनि अनुसन्धान अघि बढाएको बताएको छ ।
पूर्व उपराष्ट्रपति पुनका छोरा अखिल क्रान्तिकारीका पूर्व महासचिव दिपेश पुन यसअघि पनि अनुसन्धानमा परेका थिए ।
दुई वर्षअघि उनका जेठा छोरा जितेन्द्रले शक्तिको दुरुपयोग गरी हुम्ला बासी भएको कागजात बनाई सीमा वारपार गर्ने परिचयपत्र गृह मन्त्रालयबाट बनाएका थिए । त्यसपछि चिनियाँ भूमि ताक्ला कोट पुगेर चिनियाँ टोलीसँग तमसुक गरेर चार किलो सुन बुझेको समाचार सार्वजनिक भएको थियो । तस्करीको सुन भित्र्याउन उनले शक्तिको दुरुपयोग गरेको आरोप थियो । सुनको भुक्तानी बाफतको सावाँ–ब्याजको रकम चिनियाँ पक्षलाई नदिएपछि यो प्रकरण बाहिरिएको थियो ।
रोल्पा घर भए पनि जितेन्द्रले सुन तस्करीका लागि सहज ओहोरदोहोर गर्न हुम्लाको प्रमाणपत्र गृह मन्त्रालयबाट बनाएका थियो । सो प्रमाणपत्र भएपछि भिसा आवश्यक पर्दैन ।
जितेन्द्र हाल नेपालमा छैनन् । उनी अमेरिकामा रहेको बताइएको छ ।
पुन उपराष्ट्रपति छँदाका सल्लाहकार जीवनकुमार गुरुङ त्रिभुवन विमानस्थलमा १९ मंसिर २०८० मा बरामद १४ केजी सुन प्रकरणमा मुछिएर पक्राउ परे पनि धरौटीमा छुटेका थिए ।
संगठित अपराध निवारण ऐन २०७० मा कसैले आपराधिक समूहको लाभका लागि, आपराधिक समूहको निर्देशनमा आपराधिक समूहका तर्फबाट आपराधिक समूहसँग मिलेर वा आपराधिक समूहको संस्थापक वा सदस्य भई जानीजानी कुनै गम्भीर अपराध गरेमा निजले संगठित अपराध गरेको मानिने भनिएको छ।
यही प्रकरणमा पूर्वसभामुख समेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले हिजो पक्राउ गरिसकेको छ । उनी माथि पनि चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोपमा अनुसन्धान भइरहेको बताईएको छ ।