काठमाडौं, असोज २७ :

सुन तस्करी प्रकरणमा संलग्न रहेको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महरा विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख रामहरि काफ्लेले महराविरुद्ध मुद्दा दर्ता भएको जानकारी दिए।

सरकारी वकिलको कार्यालयद्वारा दर्ता गरिएको अभियोगपत्रमा महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो भराउनुपर्ने माग गरिएको छ। साथै, उनलाई ३ वर्षभन्दा बढी कैद सजाय हुनुपर्ने मागदाबी पनि गरिएको छ।

सुन तस्करी प्रकरणमा महरालाई हिजो पक्राउ गरिएको थियो। अनुसन्धानका क्रममा उनीमाथि संगठित अपराधमा संलग्न रहेको, गैरकानुनी गतिविधिमा सहयोग पुर्‍याएको र आर्थिक लाभ लिएको आरोप लागेछ। अदालतमा सुनुवाइपछि महराको थुनछेक बहस हुने र त्यसपछि मात्र थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्ने निर्णय हुनेछ।