कञ्चनपुर, असोज २८ :

महानन्द जोशीलाई हमासको नियन्त्रणबाट छोरा विपिन मुक्त होला भन्ने आशा सोमबार बिहानसम्मै थियो ।

गाजा क्षेत्रबाट हमासले २० जना बन्धकको नामावली सार्वजनिक गर्दा विपिनको नाम नदेखिएपछि परिवारसँगै उनको प्रतीक्षामा रहेका धेरैको मनमा चिसो पस्यो । सोमबार दिनभरजसो सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा विपिनबारे मिश्रित समाचारहरु आइरहेका बेला विपिनका बुबा महानन्द भने भीमदत्त नगरपालिका–१ स्थित दाजुको घरमा पितृकार्य (श्राद्ध)मा व्यस्त थिए ।

फरेन्सिक परीक्षणबाट विपिन जोशीको शव पुष्टि
 

तीन दाजु/भाइमा महानन्द कान्छा हुन् । ‘उहाँ कान्छाबुबाको श्राद्धका लागि पितृकार्यमा जुटेकै बेला विपिन अस्ताएको खबर सुनेपछि सन्नाटा छायो’, जोशी परिवारका एक सदस्यले भन्नुभयो, ‘कान्छाबुबाको श्राद्धकै दिन दुई वर्षदेखि पर्खिरहेको छोरा सधैँका लागि नआउने खबरले परिवार स्तब्ध भएको छ ।’

सोमबार बिहान विपिनका परिवारजन र इजरायलस्थित नेपाली दूतावाससँग भिडियो ‘कन्फेरेन्स’मा विपिन नरहेको विषयमा छलफल भए पनि विपिनका दाजु किशोर जोशीले भाइ फर्किन सक्ने आशा जीवितै रहेको बताइरहनु भएको थियो । तर विपिन जीवित नरहेको खबरले परिवार मात्रै नभई सिङ्गो गाउँ स्तब्ध छ ।

भीमदत्त नगरपालिका–३ का वडा सदस्य मीना ठगुन्नाले विपिनका विषयमा उनका परिवारलाई आधिकारिक जानकारी प्राप्त नभएको जानकारी दिए । ‘विपिन जिवित नरहेको विषय सार्वजनिक हुँदा हमासले शव इजरायललाई दिने प्रक्रिया अघि बढाएको भनिए पनि उनको परिवार शवको पुष्टि नहुँदासम्म आधिकारिक मान्न तयार छैन’, वडा सदस्य ठगुन्नाले भने, ‘हिजोदेखिको विपिनको खबरले सबैतिर सन्नाटा छाएको छ ।’

उनले विपिनका परिवारजन एक–दुई दिनभित्र काठमाडौँ जाने तयारी रहेको जानकारी दिए । विपिनका आमा पद्म र बहिनी पुष्पा रिहाइका लागि दबाब दिन अमेरिका पुगेका थिए । उनीहरु अझै स्वदेश फर्किसकेका छैनन् । रासस