
नेपाल कम्युनिष्ट पार्टी एमालेको १०औँ केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बिहान ११ बजे ललितपुरको जावलाखेलमा बैठक बस्न लागेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो । बैठकमा पार्टी अध्यक्ष ओलीले समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।
अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि प्रादेशिक रूपमा इच्छुक केन्द्रीय सदस्यलाई धारणा राख्ने तीन मिनेटको समय छुट्याइएको प्रमुख गौतमले जानकारी दिनुभयो । बैठकले संसद विघटन विरुद्धका संघर्षका कार्यक्रम पनि तय गर्ने बताईएको छ ।
बैठकले पार्टीले आगामी मङ्सिरमा हुने महाधिवेशनको समय र स्थान तोक्ने छ । यसअघि यही असोज २४ र २६ गते बसेको सचिवालय बैठकले मङ्सिर अन्तिम साता पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ ।
भक्तपुरको गुण्डुस्थित अध्यक्ष ओलीको अस्थायी निवासमा बसेको नेकपा एमालेको १८ सदस्यीय सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले तत्कालै राजीनामा दिनुपर्ने माग समेत गरिएको थियो । बैठकमा ५ पदाधिकारीले राजीनामाको राखेका थिए । अन्य १३ ले नेतृत्वमाथिका तमाम विषय वैधानिक निकाय महाधिवेशनमै उठाउनुपर्ने धारणा राखेका थिए।
नेकपा एमालेले पार्टीको महाधिवेशन गर्ने, संसद् पुनस्थापना लागि नेतृत्व लिने र अहिले भएको प्रतिगमन विरुद्ध एकजुट हुने निर्णय गर्दै पदाधिकारी बैठक सकिएको थियो ।