ललितपुर, असोज २९ :

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु भएको छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दैछन् ।

ओलीले बैठकमा  समसामयिक राजनीति,जेनजी आन्दोलन,घुसपैठ,व्यक्ति र सार्वजनिक सम्पत्तिको तोडफोड लगायतका विषय समेटिएको प्रतिवेदन प्रस्तुत गर्दैछन् ।  

उक्त प्रतिवेदनमाथि धारणा राख्न केन्द्रीय सदस्यहरूलाई ३ मिनेटको समय छुट्टाइएको छ ।

पार्टीले आगामी मङ्सिरमा हुने महाधिवेशनको मिति र स्थान समेत तोक्ने  प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए  । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि पार्टीको धारणा बनाउन एमाले केन्द्रीय कमिटीको बोलाइएको हो ।

यसैबीच नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा समसामयिक प्रस्तावको मस्यौदा तयार गर्न तीन सदस्यीय कमिटी गठन गरिएको छ । केन्द्रीय कमिटी बैठकले पारित गर्ने समसामयिक प्रस्ताव तयार गर्न उपमहासचिव प्रदीप ज्ञवालीको नेतृत्वमा राजेन्द्र गौतम र महेश बर्तौला सदस्य रहेको ३ सदस्यीय कमिटी गठन गरेको हो ।

बैठकमा बहस नोटका लागि सूर्य थापाको नेतृत्वमा केन्द्रीय सदस्य विष्णु रिजाल र निरज आचार्य सदस्य रहेको ३ सदस्यीय कमिटी बनाईएको छ । 
कार्यक्रममा नेकपा एमाले निर्वाचन आयोगका अध्यक्षमा मनोनीत विजय सुब्बालाई अध्यक्ष ओलीले शपथ खुवाएका छन् ।