ललितपुर, असोज ३० :

नेपाल कम्युनिस्ट पार्टी एमालेको १०औँ केन्द्रीय कमिटी बैठक आज पनि जारी  छ । ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा जारी बैठक आज बिहान ८ बजेबाट सुरु भएको छ ।  

बैठकको दोस्रो दिन आज  केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको विशेष प्रस्तावमा आफ्ना धारणा र सुझाव राख्ने क्रम जारी रहनेछ ।

हिजोको बैठकमा ५० जना केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखेका पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो  ।  आज करिब १०० जनाले धारणा राख्ने अनुमान गरिएको छ ।  बैठकमा हरेक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय दिइएको र यही क्रममा सबै केन्द्रीय सदस्यहरूले समय लिने हो बैठक लम्बिने संकेत देखिएको छ ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बैठकमा प्रस्तुत गरेको राजनीतिक परिस्थिति र हाम्रो नीतिसम्बन्धी प्रतिवेदनमाथि केन्द्रीय सदस्यले सुझाव राखिरहेको गौतमले बताए । केन्द्रीय सदस्यहरूले अन्तरिम सरकार,प्रतिनिधिसभा विघटनका सम्बन्धमा महत्त्वपूर्ण सुझाव दिइरहेको उनले बताए ।

बैठकमा केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि वर्णानुक्रम अनुसार अन्तिम ज्ञ बाट पालो मिलाइएको छ ।

हिजोको बैठकमा अध्यक्ष ओलीले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११ औँ महाधिवेशन गर्ने प्रस्ताव गर्नुभएको छ ।

बैठकमा केन्द्रीय सदस्यहरूका धारणा सुनेपछि पदाधिकारीहरूले पनि आफ्ना धारणा राख्नेछन् । अन्त्यमा अध्यक्ष ओलीले बैठकमा आएका सुझाव र जिज्ञासाहरूको एकमुष्ट जवाफ दिने तयारी छ ।