
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नियमित महाधिवेशनका लागि सहमतिको वातावरण बनाउन पार्टी नेतृत्व लागिरहेको बताएका छन्।
बिहीबार बसेको केन्द्रीय समितिको बैठकमा बोल्दै खड्काले विशेष महाधिवेशनको मागसहित केन्द्रीय समितिमा प्रतिनिधिहरूको हस्ताक्षर प्राप्त भएको जानकारी गराए ।
खड्काले हस्ताक्षरदाताहरूको माग विशेष महाधिवेशन होइन, नियमित महाधिवेशन समयमै होस् भन्नेमा केन्द्रित रहेको बताए।
‘मलाई विश्वास छ, विशेष अधिवेशनका मागकर्ता साथीहरूले मंसिर मसान्तभित्रमा नियमित महाधिवेशन हुनुपर्छ भन्ने विषय मुख्य हो,’खड्काले बैठक सुरु गर्दै भने, ‘केन्द्रीय समिति बैठक टुंगिँदासम्म हामी नियमित महाधिवेशन समयमै गर्ने समझदारीमा पुग्नेछौं।’
उनले वर्तमान परिस्थितिमा नियमित महाधिवेशनको वातावरण बनेको अवस्थामा विशेष महाधिवेशन आवश्यक नपर्ने र सोही दिशातर्फ कांग्रेस अघि बढ्ने स्पष्ट पारे।कांग्रेसमा पछिल्ला दिनमा विशेष महाधिवेशनको माग बलियो बन्दै गएको छ।