ललितपुर, असोज ३१ :

नेपाल कम्युनिस्ट पार्टी एमालेको १०औँ केन्द्रीय कमिटी बैठक आज पनि जारी  छ ।

तेस्रो दिन आज पनि बिहान ८ बजेबाट सुरु भएको बैठकमा  बोल्न बाँकी रहेका केन्द्रीय सदस्य र पदाधिकारीहरूले आफ्ना धारणा राखेपछि बैठक आजै सकिने पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 

बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई तीन मिनेट समय दिइएको छ । बैठकमा केन्द्रीय सदस्यको धारणा सुनेपछि आजै पोलिटब्युरो,स्थायी कमिटी र पदाधिकारीहरूले आफ्ना धारणा राख्नेछन् ।

एमालेमा स्थायी र पदाधिकारी सहित ९९ जना नेताहरू रहेका छन् ।

बैठकको अन्त्यमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूबाट आएका जिज्ञासाको एकमुष्ट जवाफ दिएर बैठक समापन हुने बताईएको छ । आजको बैठकमा उप महासचिव प्रदीप ज्ञवालीले पनि समसामयिक प्रस्तावहरू पनि प्रस्तुत गर्नेछन् ।

बैठकमा प्रस्तुत अध्यक्ष ओलीको विशेष प्रस्तावमा केन्द्रीय सदस्यहरूले दिएका सुझाव,वर्तमान राजनीतिक परिस्थिति,घोषित निर्वाचन र पार्टीको आगामी बाटो र पार्टीका नेता कार्यकर्ताहरूको भूमिका आदिका बारेमा विशेष निर्देशन दिने गौतमले जानकारी दिए ।

जेन जी आन्दोलनपछि उत्पन्न पछिल्लो  राजनीतिक परिस्थिति लगायत बिषयमा छलफल गर्नका लागि एमालेले विशेष बैठक बोलाएको हो ।

बैठकले मंसिर २७ देखि २९ गतेसम्म पोखरामा ११ औँ महाधिवेशन गर्ने निर्णय गर्दैछ ।