
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीनजना पूर्वप्रधानमन्त्री र दुईजना पूर्वमन्त्रीमाथि गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्तिको छानबिन थालेको छ। सार्वजनिक ओहदा दुरुपयोग गरी अवैध सम्पत्ति आर्जन गरेको आशंकामा विभागले अनुसन्धान अघि बढाएको हो।
अनुसन्धानको दायरामा परेका नेताहरूमा नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वमन्त्री आरजु राणा देउवा र दीपक खड्का रहेका छन्। यससँगै देउवाका पुत्र जयवीरसिंह देउवा पनि अनुसन्धानको घेरामा परेका छन्।
विभागले यस समूहका नाममा रहेका चल–अचल सम्पत्ति, बैंक खातामा रहेको रकम, लगानी, कम्पनी स्वामित्व तथा कारोबारबारे विस्तृत विवरण संकलन प्रक्रिया अगाडि बढाएको छ।
राष्ट्र बैंक, धितोपत्र बोर्ड र मालपोतमा पत्राचार
नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिस्ट्रार कार्यालयलाई यी व्यक्तिहरू तथा तिनीहरूका परिवारका सदस्यहरूको नाममा रहेका खाताहरू, नगद, गरगहना, सेयर तथा अन्य लगानीको विवरण पेस गर्न विभागले पत्राचार गरिसकेको छ।
त्यस्तै, भूमि व्यवस्थापन तथा अभिलेख विभागमार्फत ७७ वटै जिल्लाका मालपोत कार्यालयहरूलाई उनीहरूका नाममा रहेको सम्पत्ति विवरण संकलन गर्न निर्देशन दिइएको छ।
जलेका नोटको फरेन्सिक परीक्षणको रिपोर्ट माग
२४ भदौमा प्रदर्शनकारीले देउवा, ओली र दाहालसहितका नेताहरूको निवासमा आगजनी गरेका थिए। त्यस क्रममा बूढानीलकण्ठस्थित शेरबहादुर देउवा र तत्कालीन मन्त्री दीपक खड्काको निवासमा जलेका नोटका टुक्रा र खरानी भेटिएको भिडियो र तस्वीरहरू सार्वजनिक भएका थिए।यी नोटका टुक्राहरूको फरेन्सिक परीक्षण प्रतिवेदन पनि प्रहरीले विभागलाई बुझाउन लागेको बताइएको छ।