काठमाडौं, कात्तिक १ :

नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५औँ महाधिवेशन र आगामी फागुन २१ गते निर्धारण गरिएको आमनिर्वाचनका विषयमा बहस भइरहेको छ ।

कांग्रेसको वर्तमान केन्द्रीय समितिको नियमित चारवर्षे कार्यकाल आगामी मङ्सिरमा सम्पन्न हुँदैछ भने गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनपछि गठन भएको वर्तमान अन्तरिम सरकारले आगामी फागुन २१ गते आमनिर्वाचन घोषणा गरेको छ ।

यही असोज २८ गतेदेखि जारी बैठकमा पहिलो दिन पार्टी सभापति शेरबहादुर देउवाले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिलगायत विविध विषयमा विशेष सम्बोधन गरेका थिए । उनले विधानअनुसार पार्टीको १५औँ महाधिवेशन गर्नुपर्ने आग्रह गर्दै आफूले वैधानिक व्यवस्था र राजनीतिक इच्छाअनुसार १५औँ महाधिवेशनमा विधिवत् नेतृत्व हस्तान्तरण गर्ने बताएका थिए ।

साथै सभापति देउवाले स्वास्थ्यको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिका रूपमा काम गर्नेगरी तोकेका छन् । उनले सरकारले निर्वाचनका लागि वातावरण बनाउन सकेमा मुलुकलाई पुनः संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन हुने धारणासमेत राखेका थिए ।

बैठकको दोस्रो दिन (असोज ३० गते) कावा सभापति खड्काको अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा उनले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा जानकारी गराएका थिए भने महामन्त्री गगनकुमार थापाले विभिन्न १० प्रस्तावहरू प्रस्तुत गरेका थिए ।

दोस्रो दिनको बैठकमा नेता डा शेखर कोइरालासहित सात केन्द्रीय सदस्यले धारणा राखेका थिए । कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका प्रमुख प्रतिस्पर्धी नेता डा कोइरालाले वर्तमान सरकारद्वारा घोषित निर्वाचनमा सबै नेपाली सहभागी हुने वातावरण बनाउनुपर्नेमा जोड दिए । साथै उनले जनताको घरदैलोमा पुग्ने निर्वाचनको अवसरलाई कांग्रेसले उत्साहपूर्वक अग्रपङ्क्तिमा उभिएर अघि बढ्नुपर्ने उल्लेख गरे ।

बैठकमा केन्द्रीय सदस्यहरूले पार्टीको विशेष महाधिवेशन गर्नुपर्ने र विधानअनुसार नियमित महाविधेशन गर्नुपर्ने विषयमा आआफ्ना धारणा राख्ने क्रम जारी छ । त्यस्तै निर्वाचनका सन्दर्भमा पनि सरकारले सुरक्षाको वातावरण बनाएमा निर्वाचनमा जानुपर्ने, प्रतिनिधिसभा पुनःस्थापनामा लाग्नुपर्ने, सर्वाेच्च अदालतको व्याख्याअनुसार अघि बढ्नुपर्नेलगायत फरकफरक विषयमा छलफल जारी रहेको नेता अर्जुनप्रसाद जोशीले जानकारी दिए ।

शुक्रबार तेस्रो दिनको बैठकमा केन्द्रीय सदस्य, आमन्त्रित सदस्य र प्रदेश सभापति गरी २५ जनाले आआफ्ना धारणा व्यक्त गरेका छन् । बैठकमा केन्द्रीय सदस्यहरू रमेश रिजाल, जीपछिरिङ लामा, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, प्रदीप पौडेल, डा डिला सङ्ग्रौला, डा गोपाल दहित, सञ्जयकुमार गौतम, मानबहादुर नेपाली, गोविन्दबहादुर शाह, महिन्द्रकुमारी लिम्बू, डा चन्द्रमोहन यादव, मैकुलाल वाल्मिकी, सरस्वती बजिमय, मुक्ताकुमारी यादव, कान्तिका सेजुवाल, दिनेश कोइराला, सुशीला थिङ र भरतकुमार शाहले आआफ्ना धारणा व्यक्त गरे ।

नेता बडूले पार्टी विधानअनुसार आगामी मङ्सिरभित्रै पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्न सर्वसम्मत कार्यतालिका पारित गरी अघि बढ्न आग्रह गरे । उनले अन्य पार्टीहरूलाई यथासमयमा रुपान्तरणसहित पूर्ण तयारी एवं स्पष्ट चुनावी एजेन्डासहित नयाँ, स्वच्छ र सक्षम नेतृत्वका साथ निर्वाचनमा प्रतिस्पर्धाका लागि लाग्नुपर्ने धारणा राखेको जानकारी गराए ।

शुक्रबार आमन्त्रित सदस्य नारायणी रायमाझी तथा आमन्त्रित प्रदेश सभापतिहरू उद्धव थापा (कोशी), शुक्रराज शर्मा (गण्डकी), ललितजङ्ग शाही (कर्णाली) र वीरबहादुर बलायर (सुदूरपश्चिम)ले आआफ्नो धारणा राख्नुभएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा विभिन्न १० वटा प्रस्तावमा धारणा राख्ने क्रम जारी रहेकाले कार्यसमितिको बैठक भोलि दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने मुख्यसचिव पौडेलले बताए ।