
आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्दैछ । गृहमन्त्री ओमप्रकाश अर्यालले बोलाएको बैठकमा केन्द्रीय एकीकृत निर्वाचन सुरक्षा समितिले तयार पारिरहेको एकीकृत सुरक्षा योजनाको प्रगति समीक्षा गरिने बताईएको छ ।
साथै आवश्यक पृष्ठपोषण तथा नीतिगत निर्देशन समेत दिनेछ। बैठकमा गृह तथा रक्षा सचिवका साथै नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु तथा प्रतिनिधिहरुको सहभागीता रहनेछ ।
गृहमन्त्री अर्यालले कार्यभार सम्हालेपछि गृह मन्त्रालयकै शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखाका प्रमुख सहसचिव आनन्द काफ्लेको नेतृत्वमा यो समिति गठन गरिएको हो।
समितिमा चारवटै सुरक्षा निकायका प्रतिनिधि सदस्यका रूपमा रहेका छन् भने उपसचिव रवीन्द्र अधिकारीलाई सदस्य सचिवका रूपमा तोकिएको छ।
यो सुरक्षा योजना प्रत्येक जिल्लामा कार्यान्वयनका लागि पठाइने र प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठन हुने जिल्ला एकीकृत निर्वाचन सुरक्षा समितिले योजनाको कार्यान्वयन जिम्मेवारी लिने बताईएको छ ।
आसन्न निर्वाचनलाई लक्षित गर्दै सरकारले सुरक्षा रणनीति निर्माण गरेको हो ।