
नेपाली काँग्रेसका नेता गुरु राज घिमिरेले केन्द्रीय कार्यसमितिले अस्वाभाविक रूपमा केन्द्रीय समिति बैठक लम्ब्याएको आरोप लगाएका छन् ।
आज पत्रकार सम्मेलन गर्दै नेता घिमिरेले पार्टीको महाधिवेशन मिति तोक्न ढिलाइ गरेकोमा नेतृत्वको आलोचना समेत गरेका छन् ।नेता घिमिरेले केन्द्रीय कार्यसमिति महाधिवेशन भन्दा उच्च नभएको भन्दै महाधिवेशनको आदेशलाई पालना गर्नुपर्ने बताए । महाधिवेशन गर्न हामीलाई के ले रोक्यो भन्दै प्रश्न पनि गरेका छन् । आफूलाई प्रजातान्त्रिक गुरुकुलको प्राचार्य ठान्ने तर मुख्य नेताहरूले नै आफ्नो भूमिका निर्वाह गर्न नसकेको भन्दै आक्रोश पोखेका छन् ।
विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियानको अगुवाइ गरेका नेता घिमिरेले पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशनको माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दर्ता गरिसकेको बताए।
जारी केन्द्रीय समितिको बैठकलाई सूक्ष्म रूपमा नियालिरहेको समेत उनले बताए। काँग्रेसको केन्द्रीय समितिको जारी बैठक आगामी कात्तिक १३ गते सम्मलाई स्थगित गरिएको छ ।