
स्वास्थ्य सेवा विभागमा कार्यरत उच्च अधिकारीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी निवर्तमान अतिरिक्त सचिव संगीता कौशल मिश्रालगायतका विरुद्ध १४ करोड ६ लाख ८५ हजार ५ सय रुपैयाँ विगो माग दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार मुद्दामा विभागका तत्कालीन निर्देशक डा श्रवणकुमार थापा, आपूर्ति शाखा प्रमुख सुरेन्द्रकुमार चौरसिया, निर्देशक डा विवेकुमार लाल, प्रमुख लेखा नियन्त्रक भुवनप्रसाद काफ्ले, कानुन अधिकृत सीता घिमिरे, जनस्वास्थ्य अधिकृत दीपक अधिकारी, शाखा अधिकृत यादवप्रसाद सापकोटा, लेखा अधिकृत शम्भुप्रसाद ढकाल, लेखापाल तिलकराम ढकाल, बायोमेडिकल इन्जिनियर आशिष चौहान, पद्मा मिश्र, जनस्वास्थ्य निरीक्षक सन्जयकुमार शाह र आपूर्ति कम्पनी म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्सका प्रमुख सुन्दर भुसाल पनि प्रतिवादी बनाइएका छन्।
उनीहरूमाथि स्वास्थ्य उपकरण खरिद प्रक्रियामा अनियमितता गरेको आरोप छ। अख्तियारले प्रतिवादीहरूमाथि जनही १४ करोड ६ लाख ८५ हजार ५ सय रुपैयाँ विगो माग दाबी गर्दै मुद्दा चलाएको हो।
डा संगीता कौशल मिश्राले कोशी अस्पताल, थापाथलीस्थित प्रसूति अस्पतालको प्रमुख हुँदै स्वास्थ्य सेवा विभागको महानिर्देशकका रूपमा काम गरेकी थिइन्। विभागको महानिर्देशक हुँदा भएको उपकरण खरिदमा अनियमिततासम्बन्धी आरोपपछि उनी अनुसन्धानमा तानिएकी थिइन्।
मिश्रा २०७३ मा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा स्वास्थ्यमन्त्री बन्ने चर्चा चलिरहेका बेला अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन्। तर, भ्रष्टाचार अनुसन्धानमा परेका कारण अन्तिम समयमा उनको मन्त्री नियुक्ति रोकिएको थियो।