
धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले नयाँ राजनीतिक दल ‘श्रम संस्कृति पार्टी’ दर्ता गराएका छन्। आइतबार उनी स्वयम् निर्वाचन आयोगमा उपस्थित भएर पार्टीको सनाखत प्रक्रिया पूरा गरेका हुन्।
साम्पाङले यसअघि असोज १२ गते पार्टी दर्ताका लागि निवेदन दिएका थिए। निर्वाचन आयोगमा आइतबार उपस्थित भएर उनले पार्टी दर्ताको प्रक्रिया अन्तिम चरणमा पुर्याएका हुन्। यद्यपि, उनले पार्टीको औपचारिक कार्यनीति, उद्देश्य वा नेतृत्वमा को–को छन् भन्नेबारे भने कुनै विवरण सार्वजनिक गरेका छैनन्। ‘श्रम संस्कृति पार्टी’ले कुन वर्गको प्रतिनिधित्व गर्छ र यसको राजनीतिक एजेन्डा के हुनेछ भन्ने विषयमा साम्पाङले छिट्टै धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
धरानका मेयर साम्पाङ २०७९ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा ‘लौरो’ चुनाव चिन्ह लिएर विजयी भएका थिए। त्यसयता उनले सामाजिक अभियन्ता तथा स्थानीय सरकार प्रमुखको रूपमा आक्रामक शैलीमा काम गर्दै आएका छन्।
यसअघि उनी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा प्रस्तावित अन्तरिम सरकारमा समेटिने चर्चा चलिरहेको थियो। तर प्रयास असफल भएपछि उनी पुनः धरान फर्किएका थिए। उनको पार्टीको औपचारिक घोषणा र आगामी राजनीतिक रणनीति कस्तो हुने हो भन्ने विषयमा चासो बढ्दो छ।