
तनहुँमा निर्माण हुन लागेको १२६ मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) उपर प्राप्त भएका सुझाव विद्युत् विकास विभाग र एसियाली विकास बैङ्कमा बुझाइएको छ ।
तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको तल्लो सेती जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन उपर प्राप्त भएका सुझाव समेटेर तयार गरिएको अद्यावधिक प्रतिवेदन विद्युत् विकास विभाग र एसियाली विकास बैङ्कमा बुझाइएको हो ।
आयोजनाको विद्युत् खरिद- बिक्री सम्झौता (पिपिए) को एक प्रक्रियाका रुपमा ग्रिड आबद्धताका लागि आयोजनाबाट उत्पादन हुने ऊर्जाको टुङ्गो लागिसकेको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
आयोजनाबाट उत्पादन हुने ५२ करोड युनिट (५२४ गिगावाट घण्टा) वार्षिक ऊर्जा नेपाल विद्युत् प्राधिकरणले खरिद गर्ने सहमति भएको उहाँले उल्लेख गर्नुभयो ।
आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्न ग्रिड आबद्धता सम्झौताका लागि नेपाल विद्युत् प्राधिकरणमा प्रस्ताव पेस गरिएको श्रेष्ठको भनाई छ ।
तल्लो सेती जलविद्युत् आयोजनाको ३७५ मिटर लामो अनुसन्धनात्मक अडिट सुरुङ निर्माणका लागि गत फागुनमा आरके इन्जिनियरिङ एन्ड एसोसिएटससँग सम्झौता भएको थियो ।
सो बमोजिम निर्माण व्यवसायीले अहिले पहुँच मार्ग, अडिट सुरुङ लगायत इन्जिनियरिङ सर्भे जारी राखेको श्रेष्ठको भनाइ छ ।
तनहुँ जलविद्युत् आयोजनाको १४० मिटर अग्लो कङ्क्रिट बाँधबाट प्राप्त हुने सेती नदीको रेगुलेटेड प्रवाह तथा मादी नदीको थप प्रवाहसमेत प्रयोग गर्न तल्लो तटीय क्षेत्रमा तल्लो सेती जलविद्युत् आयोजना निर्माण गर्न लागिएको हो ।
तल्लो सेती जलविद्युत् आयोजनामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र एसियाली विकास बैङ्क (एडिबी) ले लगानीका लागि चासो दिएको छ । आयोजनाको लागत २५ अर्ब अनुमान गरिएको छ ।