काठमाडौं, कात्तिक ३ :

नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायलबाट आज नेपाल ल्याइँदैछ ।

हमास समूहले बन्धक बनाएकै अवस्थामा ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको शव आज दिउँसो नेपाल आई पुग्ने अपेक्षा गरिएको छ  । दिउँसो साढे २ बजे फ्लाई दुबईमार्फत उनको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने बताईएको छ।

जोशीको शव काठमाडौँ आइपुगेपछि प्रधानमन्त्री सुशीला कार्कीले विमानस्थलमै पुगेर श्रद्धाञ्जली दिने भएकी छन्। विमानस्थलमा श्रद्धाञ्जलीपछि शवलाई नेपाली सेनाको विमानमार्फत धनगढी हुँदै एयर एम्बुलेन्सबाट महेन्द्रनगर लैजाने तयारी छ।

काठमाडौंबाट नेपाली सेनाको संयोजनमा विपिनको शव उनको घर महेन्द्र नगरसम्म पुर्याउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

हिजो बिहान इजरायलको बेन-गुरियन विमानस्थलमा आयोजित भावनात्मक श्रद्धाञ्जली समारोहपछि  जोशीको शवलाई  नेपाल पठाइएको हो ।

जोशीलाई गत २०२३ अक्टोबर ७ मा किब्बुत्ज अलुमीमबाट अपहरण गरिएको थियो ।  हमलाको बेला अरूलाई जोगाएको कारणले बाँचेकाहरूले उनलाई नायकको रूपमा समेत सम्मान गरेका छन्।

जोशी लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत इजरायल गएका थिए जसले उनलाई कृषि क्षेत्रमा काम र सिकाइको अवसर प्रदान गरेको थियो। ताकि उनले सीप र केही बचतसहित स्वदेश फर्कन सकून्।

युद्धभरि जोशी जीवित रहेको विश्वास गरिएको थियो।  २०२३ को नोभेम्बरमा सार्वजनिक भएको भिडियोमा उनी जीवित देखिएका थिए।

बन्धकहरूलाई घर फर्काउने सम्झौता घोषणा हुनु केही दिनअघि मात्र उनको परिवारले उनको रिहाइका लागि दबाब सिर्जना गर्न उक्त भिडियो सार्वजनिक गर्न स्वीकृति दिएको थियो।