
सोमबार बेलुकी तिहारको रौनकसँगै लक्ष्मी पूजा चलिरहँदा कञ्चनपुरको भीम दत्त नगरपालिका-३ भाषी स्थित मालिकार्जुन टोलमा भने सन्नाटा छाएको छ ।
दुई वर्षअघि अध्ययनका सिलसिलामा इजरायल गएका विपिन जोशी हमासको नियन्त्रणसँगै उनको हत्या भयो । चरण बद्ध रूपमा हमासको नियन्त्रणमा रहेका बन्धक सकुशल रिहा भए पनि कञ्चनपुरका जोशीको भने शव बाकसमा दुई वर्षपछि आउँदा परिवारसँगै सिङ्गो टोल शोकमय बनेको छ ।
विपिनकी आमा पद्मा र बहिनी पुष्पा उनको सकुशल रिहाइका लागि इजरायल, अमेरिकासम्म पुगे, तर विपिनको परिवारसँगै सबैतिरबाट रिहाइका लागि भएको प्रयास सार्थक हुन सकेनन् । केही दिनअघि मात्रै हमासले विपिन मारिएको विषय सार्वजनिक गरे पनि सोमबार बिहानसम्म आमा पद्मालाई विपिनको अवस्थाका बारेमा जानकारी दिइएको थिएन । बहिनी पुष्पाले दाइको निधनको खबरले आधिकारिता पाएपछि घरमा तिहारका लागि तयार पारिएका सयपत्री फूल उखेलिकी जोशी परिवारको भनाइ छ ।
“बहिनी पुष्पा यस पाली भाइटीकामा दाजुसित भेट हुनेछ भन्ने आशामा थिइन्”, परिवारका सदस्य किशोर जोशीले भने, “लक्ष्मीपूजाका दिन विपिनको शव आँगनमा आइ पुग्दा परिवार शोकमा डुबेको छ ।” दुई वर्षदेखि विपिन आउने प्रतिक्षामा रहेको जोशी परिवार सम्हालिन सकेका छैनन् ।
सोमबार दिउँसो काठमाडौं पुर्याइएको विपिनको शव नेपाली सेनाको स्काइ ट्रकबाट बेलुकी अबेर धनगढी पुर्याइएको थियो । उनको शव परिवारलाई हस्तान्तरण गर्न नेपाल स्थित इजरायली दूतावासका पदाधिकारी विपिनको घरसम्म पुगेका किशोरले जानकारी दिए । उनका अनुसार विपिनको अन्तिम दाहसंस्कार आज बिहान महेन्द्रनगरस्थित महाकाली नदीमा गरिने छ ।
इजरायलले पठाएको फरेन्सिक परीक्षणको रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ । इजरायलको ‘द नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन’ को उक्त परीक्षण रिपोर्टमा टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ ।
दुई वर्षअघि सुदूर पश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका विपिन इजरायल पुगेको एक महिनामै हमासको आक्रमणमा परेका थिए । उक्त आक्रमणमा परेर सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई बन्धक बनाइएको थियो । इजरायल र हामासबीच युद्धविराम भएपछि विपिनको मृत्यु भएको पुष्टि भएको थियो ।
बहिनी पुष्पाको भाइटीका लगाउने सपना अधुरै
दुई वर्षदेखि बहिनी पुष्पाको एउटै आग्रह हुन्थ्यो यस पटकको भाइटीका लगाउन पाउँ । तर त्यो सपना पूरा भने हुन सकेन । दुई वर्षपछि तिहारकै दिन दाइको शव घरमा पुगेपछि उनी सम्हालिन सकेकी छैनन् ।
यस पटक पनि तिहारमा भाइटीका लगाउने ठूलो आशा बोकेर उनी आमासँगै दाइको रिहाइका लागि इजरायल हुँदै अमेरिकासम्म पुगेर हर सम्भव प्रयास गरे । विडम्बना बहिनी पुष्पा र आमा पद्मा अमेरिकामै रहेका बेला विपिन अस्ताएको दुःखद खबर सुन्नुपर्यो । हमासद्वारा बन्धक बनाइएका बेला ज्यान गुमाएका विपिनको शव दुई वर्षपछि सोमबार राति लक्ष्मीपूजाकै दिन कफिनमा घरमा पुग्दा गाउँमै सन्नाटा छाएको छ ।
विपिनको शव आज बिहान महाकाली नदीमा अन्तिम संस्कार गरिने परिवारका सदस्य किशोरले जानकारी दिए । “भाइ फर्किने ठूलो आशा थियो”, उनले भने, “तर सबै सपनामाथि बज्रपात भएको छ । बोल्ने र भन्ने शब्द नै रहेन ।”