
नेपाल विद्युत् प्राधिकरणले विगतमा लोड सेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेर प्रिमियम महसुल नतिरेका उद्योगको आज बिहानबाट लाइन काट्न सुरु गरेको छ ।
प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्स,घोराही सिमेन्ट,जगदम्बा स्टील, शिवम् सिमेन्ट, त्रिवेणी स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिजको विद्युत् लाइन आज बिहान काटेको हो । जगदम्बाको १ अर्ब ६० करोड, शिवम्को ७७ करोड ८८ लाख,घोराहीको ५० करोड ८५ लाख, रिलायन्सको ७५ करोड ३७ लाख, अर्घाखाँचीको ४४ करोड ८४ लाख र त्रिवेणीको ३२ करोड १० लाख रुपैयाँ रहेको छ ।
तिहारको सार्वजनिक बिदामा पनि उद्योगको बक्यौता रकम तिर्न सक्ने गरी काउन्टरको व्यवस्था समेत नेपाल विद्युत् प्राधिकरणले गरेको छ । किस्ताको सुविधा लिएर पहिलो किस्ता तिरेमा जुनसकै समयमा काटिएको लाइन जोडिने प्रधिकरणको भनाई छ ।
यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाख सम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको थप महसुल बापतको भएको प्रधिकरणले जनाएको छ ।