
हमासको आक्रमणमा परी ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको आज महाकाली नदी किनारमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
भीमदत्त नगरपालिकास्थित उनको निवासबाट बिहान ८ बजे शवयात्रा निकालेर महाकाली नदीको भुजेला घाटमा अन्त्येष्टि गरिएको हो। अन्त्येष्टिअघि विपीनलाई शसत्र प्रहरीले शलामी अर्पण गरेका थिए ।
विपिनको शवयात्रामा नेपालका लागि इजरायली राजदूतसहितको टोली,आफन्तजन र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।
भीमदत्त नगरपालिकाबाट सुरु भएको शवयात्रा महाकाली नदीको भुजेला घाटमा पुगेर अन्त्येष्टिमा परिणत भएको थियो ।
इजरायलले सोमबार स-सम्मानका साथ विपीनको शव नेपाललाई हस्तानतरण गरेको थियो । नेपाल पठाउनु अघि इजरायल सरकारले इजरायलको विमानस्थलमा विपिन पार्थिव शरीरको विदाईका लागि समारोह आयोजना गरेको थियो । इजरायलले पठाएको फरेन्सिक परीक्षणको रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ ।