कञ्चनपुर, कात्तिक ४ :

दुई वर्षदेखि हराएका दाजु विपिन जोशीको खबरको प्रतीक्षामा रहेकी बहिनी पुष्पाको आशा यसपालिको तिहारमा पूर्णरूपमा टुटेको छ। दाजुसँग भाइटीका मनाउने धोको राखेकी उनी लक्ष्मीपूजाको दिन घरको आँगनमै शव आइपुगेपछि शोकमा डुबिन्।

सुदूरपश्चिम विश्वविद्यालयबाट अध्ययनको सिलसिलामा इजरायल गएका कञ्चनपुर भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशीको शव सोमबार राति घर ल्याइएको थियो। मंगलबार महाकाली नदी किनारमा राष्ट्रिय सम्मानका साथ उनको अन्त्येष्टि गरिएको हो।

‘यसपाली भाइटीकामा पुष्पालाई दाजु आउनेमा ठूलो विश्वास थियो,’ परिवारका सदस्य किशोर जोशीले भने, ‘तर अब त्यो आशा पनि चितासँगै खरानी भयो।’

जोशी परिवारले तिहारको तयारीस्वरूप सजाएका सयपत्री फूलहरू विपिनको मृत्युको खबर आधिकारिक बनेपछि उखेलेको जनाएको छ।

विपिन सन् २०२३ को सेप्टेम्बरमा सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका थिए। तर इजरायल पुगेको एक महिनामै, अक्टोबर ७ मा, गाजाबाट आक्रमण गरेका हमास लडाकुहरूले उनलाई बन्धक बनाएका थिए।

फरेन्सिक रिपोर्टमा गोली लागेर मृत्यु

इजरायलस्थित नेपाली दूतावासमार्फत प्राप्त जानकारीअनुसार, ‘द नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन’ ले तयार पारेको रिपोर्टमा विपिन जोशीको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख छ।

शव परीक्षणको औपचारिक रिपोर्टपछि उनको मृत्यु पुष्टि गरिएको र त्यसपछि मात्र शव नेपाल पठाइएको हो। विपिनको शव सोमबार काठमाडौं ल्याइएको थियो र त्यसपछि नेपाली सेनाको स्काइ ट्रकमार्फत धनगढी हुँदै गृह जिल्ला कञ्चनपुर पुर्‍याइएको थियो।