
जेन-जी आन्दोलनको अव्यवस्थित अवस्थाको फाइदा उठाउँदै विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको घरमा चोरी गरेको अभियोगमा पक्राउ परेका एक भारतीय नागरिकलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ।
ललितपुर महानगरपालिका–११ ढटल मार्गस्थित शाक्यको घरमा चोरी गरेको आरोपमा भारत बिहारको बेतिया जिल्ला निवासी १८ वर्षीय सरोज आलमलाई अदालतको आदेशपछि कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए।
तीन जना धरौटीमा रिहा
चोरीमा संलग्न रहेको आरोपमा पक्राउ परेका अन्य तीन जनामध्ये काभ्रे रोशी गाउँपालिका–१ का फुर्साङ लामा (२५ वर्ष), बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ का सहजाद मिया मंसुरी (२२ वर्ष) र रौतहट चन्द्रनिगाहपुर नगरपालिका–१ का मनिष सुनार (२८ वर्ष) लाई भने अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ।
लामालाई रु ६० हजार, र मंसुरी तथा सुनारलाई जनही रु ३० हजार धरौटीमा रिहा गरिएको प्रहरीले जनाएको छ।चोरी भएको घरको ग्राउन्ड फ्लोरमा सञ्चालित 'रेष्टलस' नामक एनजीओ बाट केही अमेरिकी डलर, हितेन्द्रदेव शाक्यले पाएका दीर्घ सेवा पदक, अवकाश पदक, उनका बाबुले प्राप्त गरेको शुभराज्य रोहण पदक, साथै मोबाइल, सुनचाँदीका सिक्का, गहना लगायत गरी १६ लाख रुपैयाँभन्दा बढी मूल्यका सामग्री चोरी र नष्ट भएको बताइएको छ।