
नेकपा माओवादीका उपमहासचिव वर्षमान पुनले राजनीतिक दलहरूले फागुन २१ का लागि तोकिएको चुनाव सफल पार्न सरकारलाई सहयोग गर्नुपर्ने बताएका छन् ।
मंगलबार भक्तपुरमा आयोजित चियापान कार्यक्रममा पुनले यस्तो बताएका हुन् । निर्वाचन सफल पार्नका लागि माओवादीले सरकारलाई सहयोग गर्ने बताउँदै उनले कांग्रेस र एमालेसहितका दललाई पनि चुनावका लागि तयार हुन आग्रह गरे ।
संवैधानिक रूपमा देशलाई अगाडि बढाउनका लागि प्रतिनिधिसभाको चुनाव सफल पार्नुको विकल्प नभएको पुनको भनाइ छ ।
चुनावको वातावरण बनाउनका लागि सरकारले पहल गर्नुपर्ने पुनले बताए । केही दिन पहिले नेता पुन र नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा माओवादी निर्वाचनको पक्षमा रहेको स्पष्ट गरेको बताएका थिए । भदौ २४ गतेको विध्वंस जेन-जीले नभई घुसपैठ गराएको बताए ।
दुई ठूला दल कांग्रेस र एमाले मिलेर बनेको केपी ओली नेतृत्वको दुई तिहाइको सरकार भ्रष्टाचार र बिचौलियाको स्वार्थमा केन्द्रित भएका कारण जनतामा व्याप्त निराशा र आक्रोश जेन-जी आन्दोनलमार्फत विष्फोट भएको पुनको भनाइ थियो ।