
प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनमा सहकार्य गर्न अपिल गरेकी छिन् ।
नेपाल संवत् ११४६ को अवसरमा नेपाल संवत् ११४६ न्हूदँ समारोह समितिले ललितपुरको मंगलबजारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री कार्कीले यस्तो अपिल गरेकी हुन् ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको बलमा बनेको यस नागरिक सरकारले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने जिम्मेवारी प्राप्त गरेको हुँदा सरकारसँग नेपालको संविधानको अधीनमा रही जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने दायित्व रहेको भन्दै यसका लागि समाजका सबै तह, तप्का र वर्ग समुदायको उत्तिकै भूमिका हुने समेत उनले उल्लेख गरिन् ।
प्रधानमन्त्री कार्कीले लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्न आगामी फागुन २१ गते हुने निर्वाचनमा भयरहित ढंगले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध रहेको बताईन् । यस कार्यमा सबै राजनीति दल, वर्ग, समूहको साथ र सहयोग रहनेछ भन्नेमा आफु विश्वस्त रहेको पनि बताईन ।
२०८२ भदौ २३ र २४ गते जेनजीले देशमा व्याप्त चरम भ्रष्टाचार विरुद्ध गरेको आन्दोलनमा कलिला युवाहरुको अनाहकमा ज्यान गएको र सयौंको संख्यामा घाइते भएको घटनाले आफु अत्यन्त दुःखी भएको बताउदै उनले उक्त आन्दोलनमा ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छिन् ।
" आजभन्दा ११४६ वर्षअघि, राजा राघवदेवको शासनकालमा उहाँले गरिबी र ऋणमा डुबेका नागरिकहरुको ऋणमोचन गरिदिनुभयो। ऋणको भारबाट पीडित जनतालाई मुक्त गर्ने त्यो ऐतिहासिक निर्णय थियो। यो दिन नै नेपाल संवतको शुभारम्भको आधार हो।उहाँको यही सामाजिक न्यायको महान् कार्यको कदरस्वरूप वि.सं. ९३६ मा नेपाल संवतको थालनी गरियो।यसैको सम्मानमा उहाँलाई वि.सं. २०५६ मा राष्ट्रिय विभूति घोषणा गरियो। र, २०६५ कात्तिक ७ गतेदेखि नेपाल संवतलाई राष्ट्रिय संवत घोषणा गरिएको छ। सरकारी कागजातमा नेपाल सम्वत् समेत उल्लेख गर्न थालिएको छ।यस सम्वतको संवर्धन, प्रवर्धन र व्यावहारिक कार्यान्वयनका लागि यहाँहरुको सुझावअनुसार थप कदम चाल्न पनि सरकार तयार छ। नेपाल संवत् नेपाली धर्तीमा उत्पत्ति भएको हो। नेपाली जनताले यसको प्रादुर्भाव गरेका हुन्। तसर्थ नेपाली राष्ट्रियता, मौलिकता एवं सामाजिक इतिहासको महत्त्वपूर्ण धरोहर हो यो संवत् । यस संवतको प्रवर्तन गर्ने ती महान् व्यक्तित्व साख्वाबाट आज पनि हामीले सिक्ने कुरा के छ भने व्यक्तिगत हितभन्दा सामूहिक हित र दलगत हितभन्दा माथि राष्ट्रिय हितलाई राखी हिँड्न सके मात्र हाम्रो राष्ट्रिय अभीष्ट पूरा हुन सक्छ " भनी प्रधानमन्त्री कार्कीले सम्बोधनका क्रममा उल्लेख गरिन् ।
शंखधर साख्वाःले देखाउनुभएको सामाजिक एकता, त्याग र मानवीयताको बाटोमा हिँड्न सबैलाई प्रेरणा मिलोस् भनी प्रधानमन्त्री कार्कीले शुभकामना दिएकी छिन् ।