बुटवल, कात्तिक ५ :

रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ६ स्थित सूर्यपुराघाटमा बुधबार मूर्ति विसर्जन गर्ने क्रममा तीन जनाको डुबेर मृत्यु भएको छ। मृतकहरूमा मायादेवी गाउँपालिका वडा नम्बर १ का १३ वर्षीय अजय हरिजन, १५ वर्षीय दीपु हरिजन र २८ वर्षीय रोहित हरिजन रहेका छन्।

रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीका अनुसार, तीनै जना युवाहरू मूर्ति विसर्जन गर्न सूर्यपुराघाट पुगेका थिए। उनीहरू बेपत्ता भएको खबर पाउँदा, प्रहरी र स्थानीयले संयुक्त रूपमा खोजी गर्दा शव करिब २०० मिटर तल फेला परेका थिए।

बुधबार दिउँसो ३ बजे दानव र कञ्चन नदीको संगम स्थल सूर्यपुरास्थित सन्तेश्वर घाटमा मूर्ति विसर्जनका क्रममा उक्त दुखद घटना घटेको हो। तीन युवाको मृत्युले स्थानीय मायादेवी गाउँ शोकमा डुबाएको छ।