
निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिइएका १५ दलका कागजात स्वीकृतिका लागि अध्ययन भइरहेको जनाएको छ। आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा हुनुअघि १० र घोषणापछि पाँच दलले दर्ताका लागि निवेदन दिएका हुन्।
आयोगका अनुसार यी सबै दलका कागजात हाल विचाराधीन अवस्थामा छन्। सामान्यतया दल दर्ताका लागि आयोगमा जुनसुकै समयमा निवेदन दिन सकिए पनि जेनजी आन्दोलनपछिको राजनीतिक परिवेशमा नयाँ पुस्ताको सक्रियता देखिँदै नयाँ दल दर्ताको क्रम तीव्र भएको बताइएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आवश्यक प्रक्रिया पूरा गर्ने दलको निवेदन स्वीकृत गरिनेछ।
निर्वाचन घोषणापछि हर्क साङपाङ नेतृत्वको श्रम संस्कृति पार्टी ले गत असोज ७ गते दर्ताका लागि निवेदन दिएको थियो। त्यस्तै गोपीलाल न्यौपाने नेतृत्वको नेपाल लिबरल पार्टी ले ‘सिक्का’ चिन्हसहित कात्तिक २ गते निवेदन दर्ता गरेको छ।
अधिवक्ता डा. सुरेन्द्र भण्डारी नेतृत्वको नेपाल नागरिक पार्टी ले गत असोज ९ गते, र दिनेशराज प्रसाईं नेतृत्वको गतिशील लोकतान्त्रिक पार्टी ले गत असोज ३० गते ‘ज्योति’ चिन्ह माग्दै दर्ताको निवेदन दिएका छन्।
यसैबीच, हिराप्रसाद सोती नेतृत्वको राष्ट्रिय जेनजी पार्टी नेपाल ले पनि कात्तिक २ गते ‘क्रस खुकरी’ निर्वाचन चिन्हको मागसहित दल दर्ताको निवेदन दिएको छ।
निर्वाचन घोषणापूर्व दर्ता निवेदन दिएका १० दलमध्ये केहीको कागजात अपूर्ण भएकाले स्वीकृति नदिइएको आयोगले जनाएको छ। आयोगका अनुसार दर्ता प्रक्रिया पूरा भएका दलका निवेदनमा ४५ दिनभित्र निर्णय गर्ने प्रावधान छ।