काठमाडौं, कात्तिक ७ :

जेनजी आन्दोलनपछि दसैँमा काठमाडौँका सडकमा प्रहरीको न्यून उपस्थिति देखिए पनि तिहारमा भने सक्रियताका साथ सडक-चोकमा उपस्थित भए । प्रहरीको सक्रिय उपस्थितिका कारण चाडपर्वमा ठूलो दुर्घटना हुन पाएन ।

‘तिहारको दिन काठमाडौँ उपत्यकामा सामान्य खालका १६ वटा दुई पाङ्ग्रे सवारी दुर्घटना भएको रेकर्ड छ’, ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले भने, ‘ट्राफिक प्रहरी प्रमुख सहितको टोली तिहारको दिन सडकमा खटिएको थियो, प्रहरीको सक्रियताकै कारण मानवीय क्षति हुन पाएन ।’

उनका अनुसार मात्रै उपत्यकामा १९९ जना मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाएको कसुरमा कारबाहीमा परेका छन् । साथै १५ जना मानिस सामान्य घाइते भएका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीका अनुसार तिहारमा सुरक्षात्मक उपायहरू कडाइका साथ लागू गरिएको थियो । उनले भने, ‘तिहारमा लापरबाही तरिकाले सवारी चलाउनेविरुद्ध सिसी क्यामराबाट निगरानी बढाइएको थियो, सडकमा ट्राफिक प्रहरीको उल्लेख्य उपस्थिति थियो ।’

उनका अनुसार भक्तपुर, ललितपुर हुँदै नयाँ बसपार्क, कोटेश्वर, रत्नपार्क, कलङ्की, चाबहिलजस्ता व्यस्त क्षेत्रमा प्रहरीहरू निरन्तर सवारी साधनको आवागमन व्यवस्थापनमा जुटेका थिए । उनले आफू स्वयम पनि दिनभर सडकमा खटिएको बताए ।