काठमाडौं, कात्तिक ८ :

गृह मन्त्रालयले अनावश्यक धर्ना, जुलुस र प्रदर्शनका कार्यक्रम नगर्न सबैमा आग्रह गरेको छ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा प्रेस विज्ञप्ति जारी गर्दै  जेनजी पुस्ताको अगुवाइमा भएको प्रदर्शनपछि गठित वर्तमान सरकार फागुन २१ गतेका लागि तय भएको निर्वाचनको वातावरण बनाउन क्रियाशिल रहेको समेत उल्लेख गरेको छ।  गृह मन्त्रालयले सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशिल रहेको भन्दै सबै पक्षलाई संयमित हुन समेत आग्रह गरेको छ ।

हाल सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति तथा समूहका नाममा आन्दोलनका कार्यक्रमहरू सार्वजनिक भएकोमा गम्भीर ध्यानाकर्षण भएको पनि विज्ञप्ति मार्फत उल्लेख गरेको छ ।

देशमा अस्थिरता निम्त्याउन खोज्ने स्वार्थ समूहले यस्ता कार्यक्रममा घुसपैठ गरी अशान्ति एवम् अराजकता निम्त्याउन सक्ने हुँदा त्यसतर्फ आयोजकहरू समेत सचेत हुनुपर्ने  विज्ञप्तिमा भनिएको छ। सबैको जायज माग, चासो र सरोकारलाई सम्बोधन गर्न सरकार तयार रहेको भन्दै मन्त्रालय वार्ताका माध्यमबाट समाधान खोज्न आग्रह गरेको हो ।

सबैको जायज माग र चासोलाई सम्बोधन गर्न सरकार सदा तत्पर रहेको भन्दै यस्ता धर्ना, जुलुस र आन्दोलनका कार्यक्रमहरू नगरी वार्ता र संवादका माध्यमबाट विधि सम्मत समाधान खोज्न सबैमा हार्दिक अनुरोध गरिएको छ।