
विश्वकप लिग २ मा आज नेपाली पुरुष क्रिकेट टोली बलियो टोली अमेरिकासँग खेल्दैछ ।
खेल नेपाली समय अनुसार बिहान ११:१५ बजे दुबई अन्तर्राष्ट्रिय मैदानमा सुरु हुनेछ । लिग २ मा आफ्नो पुनरागमनलाई निरन्तरता दिन नेपालले यो खेल जित्नै पर्ने हुन्छ ।
चार महिनापछि नेपाल एक दिवसीय क्रिकेटमा फर्किँदै छ। आजको खेल लिगको ८६ औं खेल हो । विश्वकप लिग–२ मा यस पटक अमेरिका र घरेलु टोली संयुक्त अरब इमिरेट्स यूएई प्रतिस्पर्धीको रूपमा रहेको छ । नेपाली टोलीको लक्ष्य पुनरागमन नै रहने छ।
टी–२० विश्वकप एसिया छनोट जितेर आगामी वर्ष भारत र श्रीलङकामा हुने प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरेको नेपाल अहिले नयाँ परीक्षाको मैदानमा उभिएको छ।
छोटो फर्म्याटमा चम्किएको नेपाली टोलीलाई अब लामो फर्म्याटमा पनि निरन्तरता देखाउनुपर्ने चुनौती छ।
अंक तालिकामा नेपाल ७ औं स्थानमा रहेको छ । १६ खेल मध्ये नेपालले ५ मा जित र ९ खेलमा हार व्यहोरेको छ । २ खेलमा भने कुनै नतिजा आएन । एक दिवसिय वरियतामा नेपाल ३३ रेटिङका साथ १७ औं स्थानमा रहेको छ । टिमले पछिल्ला ४ एक दिवसिय खेल मध्ये ३ मा जित निकालेको छ । जस्ले गर्दा नेपालले अमेरिकालाई कडा चुनौती दिन सक्ने देखिन्छ ।
विश्वकप लिग–२ तीन वर्षको यात्रा हो। तर नेपालले जारी प्रतियोगितामा अझै स्थायित्व पाउन सकेको छैन। १६ खेल सकिँदा ५ जित मात्रै हात पारेको नेपाल सातौं स्थानमा छ। त्यसैले यो प्रतियोगितामा अवसर बाँकी रहे पनि नेपाललाई अब गल्ती गर्ने ठाउँ भने रहने छैन।
अमेरिका भने २० खेलमा २८ अंकका साथ उच्च मनोबलमा छ। लगभग आधा खेल खेलिसक्दा अमेरिकाले १४ जितसहित २८ अंक जोडिसकेको छ। यो टोली लगातार ६ खेलमा अपराजित छ।
तयस्तै यूएई भने ६ अंक सहित तालिकाको पुछारमा छ। पछिल्लो पल्ट स्कटल्यान्डलाई ९७ रनले पराजित गरेको यस टोलीले पछिल्ला दुई खेलमा नेदरल्याण्डसँग पाँच र स्कटल्यान्डसँग आठ विकेटको हार बेहोरेको थियो। त्यसैले यूएई पनि नेपाल जस्तो पुनरागमन गर्ने लक्ष्यका साथ मैदान उत्रिने पक्का छ।