काठमाडौं, कात्तिक ९ :

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै थप चार मन्त्रीको नाम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार गणपतिलाल श्रेष्ठ, सुधा गौतम, बब्लु गुप्ता र खगेन्द्र सुनारलाई मन्त्री बनाउने सिफारिस गरिएको हो।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिने तयारी भए पनि गणपतिलाल श्रेष्ठलाई अन्ततः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइने भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

त्यस्तै, सुधा गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री, बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्री र खगेन्द्र सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाउने निर्णय गरिएको छ।

नवनियुक्त मन्त्रीहरूले आजै दिउँसो साढे २ बजे शीतल निवासमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ।चार नयाँ मन्त्री थपिएसँगै प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद् १२ सदस्यीय बन्ने भएको छ।

हालसम्मको मन्त्रिपरिषद् यसप्रकार रहेको छः

प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन तथा न्याय मन्त्री अनिलकुमार सिन्हा, शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुन, कृषि तथा पशुपन्छी विकासमन्त्री मदनप्रसाद परियार, र सूचना तथा सञ्चारमन्त्री जगदीश खरेल।