
महाराजगञ्ज प्रहरी वृत्तका असई मिलन राय र जवान उत्तम थापाको हत्या प्रकरणमा थप पाँच जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा गोरखाका २१ वर्षीय सोमबहादुर गुरुङ, तनहुँका २१ वर्षीय राजीव गुरुङ, युनिक श्रेष्ठ, सर्लाहीका १७ वर्षीय सुमित तितुङ र रामेछापका १६ वर्षीय दीपक मगर रहेका छन्।
उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईले जानकारी दिए। यसअघि सो घटनामा संलग्न आरोपमा पक्राउ परेका चार जना पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्।
असई मिलन रायको हत्या आरोपमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–४ का ६२ वर्षीय होमप्रसाद पौडेल र उदयपुर चौदण्डीगढी नगरपालिका–१० हडिया का २८ वर्षीय टिकाराम विक पक्राउ परेका थिए। उनीहरूविरुद्ध कर्तव्य ज्यान र आपराधिक उपद्रव मुद्दा दर्ता भई दुवै जना पुर्पक्षका लागि जेल चलान भएका हुन्।
त्यस्तै, प्रहरी जवान उत्तम थापाको हत्या आरोपमा काभ्रे रोशी गाउँपालिका–९ राजवासका २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुर थाहा नगरपालिका–७ बतासेका २१ वर्षीय सोनाम तामाङ (बुद्धिलाल थिङ) पक्राउ परेका थिए। उनीहरू पनि अहिले पुर्पक्षका लागि कारागारमा छन्।
‘जेनजी आन्दोलन’ का क्रममा भएको प्रदर्शनकै बीचमा प्रहरीमाथि आक्रमण हुँदा असई राय, जवान थापा र प्रहरी प्रभाग कोटेश्वरका हवल्दार अमृत गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ।प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी पनि जारी रहेको जनाएको छ।