काठमाडौं, कात्तिक ९ :

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिने निर्णय गरेको छ । 

आइतबार पार्टी कार्यालयमा बसेको रास्वपा सचिवालय बैठकले रास्वपा लोकतान्त्रिक पार्टी भएकाले सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रीत गर्ने र यससम्बन्धी गतिविधिलाई तीव्रता दिने निर्णय गरेको रास्वपा नेता गणेश पराजुलीले जानकारी दिए ।

निर्वाचनलाई सफल बनाउन अन्य राजनीतिक दलहरुले पनि पहलकदमी लिनुपर्ने रास्वपाको ठहर रहेको उनको भनाइ छ । पराजुलीले न्याय, सुशासन र भ्रष्टाचारविरुद्धको गतिविधिका लागि सरकारलाई पूर्ण रुपमा समर्थन गर्ने बताए । 

सरकारको म्याण्डेड निर्वाचन भएकाले सवै राजनीतिक दललाई सहभागी गराउने वातावरण सरकारले बनाउनुपर्ने उनको भनाइ छ । त्यस्तै बैठकले कात्तिक ३० गतेसम्म मतदाता नामावली अद्यावधिक गर्ने समय दिएकाले पार्टीको तर्फबाट नामावली दर्ताका लागि आह्वान समेत गर्ने निर्णय गरेको पराजुलीले बताए ।

त्यस्तै तल्लो तहको अधिवेशन, उम्मेदवार चयनका लागि मापदण्ड बनाउने, पार्टीको विस्तारित भेला लगाएतका बिषयमा बैठकमा छलफल भएको उनले बताए। रास्वपा सचिवालय बैठक मंगलबार पुन बस्ने नेता पराजुलीले जानकारी दिए ।