काठमाडौं, कात्तिक १० :

सरकारले आगामी निर्वाचनको वातावरण तयार गर्न जेन-जी प्रतिनिधि र राजनीतिक दलसँग संयुक्त वार्ता गर्ने भएको छ। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार वार्ता बुधबार अपरान्ह ४ बजेपछि निर्धारित गरिएको छ।

मन्त्री खरेलका अनुसार विभिन्न समूहका जेन–जी प्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधि तथा सरकारका अधिकारीहरू वार्तामा सहभागी हुनेछन्। उनले सरकारले सबै पक्षको सहभागितामा निर्वाचनको वातावरण सिर्जना गर्ने लक्ष्यसहित वार्ता अघि बढाउन लागेको बताए।

जेन-जीको भावनाविपरीत सरकार अगाडि बढ्ने अवस्था देखिदैन। तसर्थ सरकार सबैलाई समेटेर निर्वाचन कार्यक्रम अगाडि बढाउन चाहन्छ ।

प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी प्रतिनिधि र राजनीतिक दलबीच वार्ता होस् भन्ने प्रस्ताव अनुरुप  यो वार्ताको तयारी भएको हो ।  प्रधानमन्त्रीले केही दिनअघि विभिन्न दलका शीर्ष नेताहरूसँग बालुवाटारमा गरेको पहिलो चरणको वार्ताका क्रममा सो प्रस्ताव गरेकी हुन् ।

बुधबार हुने वार्तामा आगामी निर्वाचनका तयारी, राजनीतिक सहमति र जेन–जी पुस्ताको माग सम्बोधनलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ।