काठमाडौं, कात्तिक ११ :

पश्चिमी वायुको सक्रियता र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका धेरैजसो ठाउँमा हाल मौसम बदली भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी र तराई भू-भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने हिमाली क्षेत्रमा हल्का देखि मध्यम हिमपात भइरहेको छ। गण्डकी प्रदेशको मनाङ र मुस्ताङ आसपासको हिमाली क्षेत्रमा मध्यमदेखि भारी हिमपात समेत भइरहेको विभागले जनाएको छ।

बंगालको खाडीमा विकसित भएको चक्रवाती आँधी ‘मोन्था’को प्रभाव नेपालमा पनि देखिन सक्ने मौसमविद्हरूले चेतावनी दिएका छन्। बीबीसी हिन्दीका अनुसार पछिल्ला ६ घण्टामा ‘मोन्था’ शक्तिशाली चक्रवातमा परिणत भएको छ। भारतीय मौसम विभागले यसले भीषण रूप लिन सक्ने भन्दै रेड अलर्ट जारी गरेको छ।

हाल मोन्था पश्चिम-मध्य बंगालको खाडी क्षेत्रमा सक्रिय छ र यो उत्तर–पश्चिमतर्फ अगाडि बढ्दैछ। उनका अनुसार आँधी आज साँझ वा राति आन्ध्र प्रदेशको मछलीपट्टनम र कंलिगपट्टनमबीचको तटीय क्षेत्रमा ९० देखि १०० किमी प्रतिघण्टाको गतिले ठोक्किन सक्ने सम्भावना छ।

नेपालको जल तथा मौसम विज्ञान विभागले पनि मोन्थाको गतिबिधि नजिकबाट अनुगमन भइरहेको जनाउँदै यसको प्रत्यक्ष प्रभावबारे अध्ययन भइरहेको र आवश्यक परे बुलेटिनमार्फत जानकारी दिने जनाएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

कात्तिक ११ गते (मंगलबार)

दिउँसो: देशभर साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा/हिमपातको सम्भावना छ। बागमती, गण्डकी र कर्णालीका उच्च हिमाली भू–भागमा केही स्थानमा भारी हिमपात हुन सक्छ।

राति: देशका अधिकांश पहाडी भू–भागमा बदली रहनेछ। गण्डकी, बागमती, लुम्बिनी र कर्णालीका हिमाली क्षेत्रहरूमा मध्यम वर्षा वा हिमपातको सम्भावना रहन्छ।

कात्तिक १२ गते (बुधबार)

दिउँसो: कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा आंशिकदेखि साधारण बदली रहनेछ। यी प्रदेशका हिमाली भू–भागमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ।

राति: देशभर आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्छ।

कात्तिक १३ गते (बिहीबार)

दिउँसो: कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रहनेछ। कोशी, मधेश र बागमतीका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ भने गण्डकी र लुम्बिनीका हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात हुन सक्छ।

राति: कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा मध्यम वर्षा र गण्डकीका केही स्थानमा हल्का वर्षा हुन सक्छ। कोशी, बागमती र गण्डकीका उच्च हिमाली भू–भागमा मध्यमदेखि भारी हिमपातको सम्भावना छ।