काठमाडौं, कात्तिक ११ :

मनाङ, मुस्ताङ र उपल्लो डोल्पालगायत हिमाली जिल्लाहरुमा बिहानैदेखि व्यापक हिमपात भइरहेको छ । उच्च पहाडी भागमा हिमपात हुँदा आन्तरिक तथा बाह्य पर्यटकहरु भने उत्साहित भएका छन् । केही दिन अझै हिमपात र चिसो बढ्ने हुँदा स्थानीय प्रशासनले भने चिसोबाट बच्न घरबाहिर ननिस्कन सूचित गराएको छ ।

उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाको बस्ती तथा आसपासका क्षेत्रका आंशिक हिमपात भएको छ ।

तिब्ब्तसँग सीमा जोडिएको उपल्लो मुस्ताङको छोसेरको कोरला नाका, छोसेर, छोन्हुप, लोमानथाङ, घमी, चराङ सुरखाङ लगायतको उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ।

त्यस्तै प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर आसपासका क्षेत्रमा बाक्लो हिमपात भएका कारण जनजिवन कष्टकर भइरहेको छ । हिमपातले मुक्तिनाथ मन्दिरलाई छपक्कै छोपेको छ ।हिमपातले मन्दिरमा दर्शन गर्न बिहानै पुगेका तीर्थयात्री तथा पर्यटकहरू समस्यामा परेका छन् ।  

कागबेनी–मुक्तिनाथ सडकखण्डमा रहेका सवारीसाधन आवतजावतमा समस्या भएको छ । हिमपातले मुस्ताङका डाँडाकाँडा सेताम्मे भएको छ । मुस्ताङको तल्लो क्षेत्रमा वर्षा भएका कारण चिसोले जनजीवन प्रभावित भएको छ । मुस्ताङमा यो सिजनको पहिलो हिमपात भएको छ ।  
मुस्ताङमा बिदा मनाउन गएका पर्यटकलाई सुरक्षित बस्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । गतवर्ष हिमपात नभएको मुस्ताङमा यसपटको हिमपातबाट कृषक भने उत्साहित छन् ।

हिमपातका कारण मन्दिर, रानीपौवामा रहेका तीर्थयात्री तथा खिङ्गा क्षेत्रमा रहेका भक्तजनलाई सुरक्षित हुन अनुरोध गरिएको छ । अहिले तीर्थालु मन्दिरमा जान सक्ने अवस्था छैन, भारी हिमपात भइरहेको छ । हिउँमा सवारीसाधन दुर्घटना हुन सक्ने भएकाले सचेत गराइएको छ ।