काठमाडौं, कात्तिक १२ :

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको तेस्रो बैठक आजदेखि सुरु भएको छ ।

बैठकको आरम्भ गर्दै पार्टी अध्यक्ष माधव कुमार नेपालले मेचीदेखि महाकालीसम्मको जनतासँग गरिएको भेटघाट र छलफलका क्रममा प्राप्त समस्या र गुनासो सम्बोधन नगरी दिँदा मुलुकमा जेनजी समूहको आन्दोलन र नयाँ परिस्थिति उत्पन्न भएको बताए ।

उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट आफूहरू अलग भएपछि चार वर्षको अवधिमा भएका कामले पार्टी विभाजनको औचित्य पुष्टि भएको जिकिर गरे ।

सो पार्टीका सम्मानित नेता झलनाथ खनालले विभाजनको औचित्य पुष्टि नहुँदै कुनै अर्को दलसँग एकतामा जाने प्रस्ताव आएको विषयमा गम्भीर छलफल हुनुपर्ने धारणा व्यक्त गरे ।

पार्टी महासचिव घनश्याम भुसालले विभिन्न पार्टीसँग भएका वार्ता र एकता कार्य दलको प्रतिवेदन बैठकमा पेस हुने जानकारी दिए ।

बैठकमा जेनजी आन्दोलन, नयाँ सरकार गठनपछिको अवस्थाको समीक्षा र पार्टी एकता लगायत विषयमा छलफल हुने जनाइएको छ ।