
सरकार र राजनीतिक दलसँगको त्रिपक्षीय वार्तामा सहभागी जेनजी प्रतिनिधिहरूले सुशासन र भ्रष्टाचारविरुद्धको कारबाहीलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उनीहरूले चुनाव आवश्यक भए पनि केवल चुनावमा मात्रै केन्द्रित भएर हुँदैन भन्ने धारणा राखेका हुन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार जेनजी प्रतिनिधिहरूले भनेका छन्, ‘चुनाव चाहिएको छ, गर्नुपर्छ तर चुनाव–चुनाव भनेर मात्रै हुँदैन।’
जेनजी प्रतिनिधिहरूले आफ्नो आन्दोलनको मुख्य एजेन्डा सुशासन र भ्रष्टाचारविरुद्धको कारबाही रहेको उल्लेख गर्दै ती विषयमा सरकारसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
‘हाम्रो आन्दोलनको मूल माग सुशासन हो, भ्रष्टाचारविरुद्धको कारबाही हो। यी दुवै एजेन्डामा सरकार सँगसँगै अगाडि बढ्नुपर्छ,’ जेनजी प्रतिनिधिहरूको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
त्रिपक्षीय वार्तामा सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधि सहभागी भएका थिए। बैठकमा जेनजी पक्षले सरकारलाई भ्रष्टाचार नियन्त्रण, पारदर्शी शासन र जिम्मेवार नेतृत्व सुनिश्चित गर्न आग्रह गरेको छ।
वार्तामा जेनजी अगुवा मिराज ढुंगाना, रक्षा बम, पुरुषोत्तम यादव,मोनिका निरौला, समना लावती, सागर ढकाल, खेमराज साउद, उपार्जुन चाम्लिङ, भोजविक्रम थापा, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमित खनाल र रिजन राना मगरले पालैसँग आफ्नो भनाइ राखेका थिए ।