काठमाडौं, कात्तिक १० :
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका विद्वानहरूलाई नचिन्ने प्रवृति रहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण गर्दै अध्यक्ष ओलीले नेपालीहरूमा आफ्ना देशका विद्वानहरूलाई धेरै नचिन्नने वा विद्वान नठान्ने प्रवृत्ति रहेको बताएका हुन् ।
उनले स्वदेशी विद्वानहरूले जतिसुकै तर्कपूर्ण र तथ्यपूर्ण लेखेको भए तापनि आफ्ना ग्रन्थहरूमा नेपाली लेखकहरूभन्दा विदेशी विद्वानहरूकै उदाहरण दिने परिपाटी बढी रहेको उल्लेख गरे ।
त्यस्तै ओलीले भाषा, संस्कृति, कला र वाणीमा भिज्ने व्यक्ति समाजका लागि असल र मानवतावादी हुनसक्ने बताए । उनले धेरै ज्ञान भएकाहरु मानिसहरु पनि असल र मानवतावादी हुन नसके समाज र छिमेकीका लागि पीडादायक बन्ने धारणा व्यक्त गरे ।