विगत केही दिनदेखि गृहमन्त्री ओम प्रकाश अर्याललाई हटाउन काठमाडौं महा नगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न सञ्चार माध्यममा आएका भ्रम पूर्ण विवरणहरू प्रति प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आज विज्ञप्ति जारी गर्दै कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध प्रधानमन्त्रीको अधिकारक्षेत्रको विषय हो। कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन पनि सक्दैन। जेनजी आन्दोलनबाट व्यक्त जनादेश अनुरूप यो सरकार गठन भएको, यो असामान्य परिस्थितिमा राष्ट्रको गहन जिम्मेवारी सम्हाल्न आउनुभएका गृहमन्त्री अर्याल आगामी निर्वाचन सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्न, शान्ति सुरक्षा कायम राख्न र सुरक्षा संगठनहरूको मनोबल उच्च राख्न अहोरात्र खटि रहनुभएको सबैलाई विदितै रहेको छ।
यस संवेदनशील परिस्थितिमा यस्ता अफवाह नफैलाउन र नपत्याउन पनि सम्बन्धित सबै पक्षलाई अनुरोध गरिन्छ।