काठमाडौं, कात्तिक १३ :

नागरिक उन्मुक्ति पार्टी (नाउपा) छाडेका रेशम चौधरीले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिएका छन् । बिहीबार चौधरी नेतृत्वको समूहले ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ नामक दल दर्ताका लागि औपचारिक रुपमा निर्वाचन आयोगमा निवेदन दिएको हो ।

चौधरीसहित पूर्वमन्त्री अब्दुल खानलगायतका नेताहरू एउटै पोसाकमा सजिएर आयोग पुगेका थिए । नयाँ दलको अध्यक्षमा कबीर सोप रहने र चुनाव चिन्ह ‘जाँतो’ माग गरिएको बताइएको छ ।

नेताहरूका अनुसार नयाँ दलमा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी दुवैका असन्तुष्ट नेताहरू सहभागी हुनेछन् । जनमत पार्टीबाट मन्त्रीसमेत भएका अब्दुल खानले करिब एक महिनाअघि पार्टी छोडेका थिए ।

श्रीमतीसँगको आन्तरिक विवादपछि चौधरीले विगत एक वर्षदेखि नाउपाबाट अलग हुने तयारी गरे पनि जेनजी आन्दोलनपछि औपचारिक रूपमा पार्टी त्यागेका हुन् ।