काठमाडौं, कात्तिक १४ :

राष्ट्रपति कार्यालय शीतल निवासमा तोडफोड र लुटपाट गरेको आरोपमा प्रहरीले तीन युवालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा बैतडीको मेलौली नगरपालिका–७ का १८ वर्षीय विशाल सिंह कार्की, सुर्नया गाउँपालिका–८ का १९ वर्षीय दीपक बोहरा र बझाङको बित्थडचिर गाउँपालिका–१ का १९ वर्षीय हेमन्त बोहरा रहेका छन्।

उनीहरूमाथि चोरी र आपराधिक उपद्रवको मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जेनजी आन्दोलनका क्रममा उनीहरूले राष्ट्रपति कार्यालय शीतल निवासमा तोडफोड, आगजनी गरी त्यहाँ रहेका सरसामान चोरी गरेका थिए। घटनापछि उनीहरूको साथबाट राष्ट्रपति कार्यालयका प्रिन्टर, वाईफाई राउटर लगायतका सामग्री बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको बताएको छ।