
सरकारले भिजिट भिसासम्बन्धी मापदण्ड खुकुलो बनाइएको छ । अध्यागमन विभागले यसअघि जारी भएको मापदण्ड खारेज गर्दै भिजिट भिसाका लागि अन्य देश जाने यात्रुहरुका लागि नयाँ मापदण्ड जारी गरेको हो ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गदै बिभागका महानिर्देशक रामचन्द्र तिवारीले भिसासम्बन्धी नयाँ मापदण्ड मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भइ शुक्रबारदेखि नै जारी गरिएको बताए ।
नयाँ मापदण्ड अनुसार भिजिट भिसामा विदेश जाँदा ६ महिना अवधि भएको राहदानी, गन्तव्य मुलुकको भिसा, प्रस्थान गर्न गन्तव्यसम्मको हवाई टिकट र आवश्यक कागजातसहित स्वघोषणा गर्नुपर्ने व्यवस्था गरिएको तिवारीले बताए ।
भिजिट भिसाका नाममा हुने ठगि रोक्नका लागि यसअघि व्यवस्था गरिएको झण्झटिलो प्रावधानलाई खारेज गरिएको उनले जानकारी दिए । उनले भिजिट भिसामा बिभाग अल्झिदा नेपाल प्रवेश गर्ने विदेशी नागरिकको निगरानी गर्ने महत्वपूर्ण कार्य ओझेलमा परेको उल्लेख गरे ।
अध्यागमन नियमन र सहजीकरणबीच उपयुक्त सन्तुलन कायम गरी राष्ट्रिय सुरक्षाका चुनौतीलाई सम्बोधन गर्ने गरी अध्यागमन प्रशासनलाई सुदृढ बनाउने र अध्यागमन प्रशासनमा पूर्ण रुपमा सुशासन कायम गर्ने कार्य प्रभावकारी ढंगले अघि बढाउने तिवारीले बताए ।
यसअघिको प्रावधानमा दुईतर्फी हवाई टिकट, ५ सय डलर सटही, विदेशमा रहने आफन्तको सहमति पत्र लगाएत देखाउनुपर्ने लगाएत रहेका थिए । जसका कारण भिजिट भिसामा विदेश जाने नागरिकले अनावश्यक झण्झट बेहोर्न बाध्य भएका थिए ।